परिचय
ललितपुरको दक्षिण भेग जिल्लाको दुई तिहाइ भुभाग ओगटेको तत्कालिन १९ वटा गा.वि.स. नेपालको पहिलो विद्युत उत्पादित स्थान फर्पिङ जलविद्युत केन्द्र नजिक रहेर पनि केन्द्रीय प्रसारण लाइनको पहुँच नपुगेकाले बत्तिमुनिको अँध्यारोमा झैं जीवन यापन गर्न बाध्य भएका थिए । यस भेगका जनतालाई उज्यालो दिन स्थानिय जनप्रतिनिधी, बुद्धिजीवि, युवाहरुको अगुवाइमा दक्षिण ललितपुरमा विद्युतको पहुँच पुर्याउने अठोट्का साथ ग्रामीण क्षेत्रको विद्युतीकरणका लागि २०५४ साल आश्विन ७ गते दक्षिण ललितपुर विद्युतीकरण अभियान समितिको गठन भयो ।
यस अभियान समितिमार्फत ग्रामीण विद्युतीकरणका लागि स्थानिय निकायदेखि जलस्रोत मन्त्रालयको प्रतिनिधी, ऊर्जा क्षेत्रका व्यक्तित्वहरुदेखि ने.वि.प्रा. सम्मलाई समन्वय गरी २०५४ फाल्गुण २४ गते दक्षिण ललितपुरको विद्युतिकरण र विद्युतको समस्या समाधानका लागि एक दिने कार्यशाला गोष्ठीबाट केन्द्रीय प्रशारण मार्फत ग्रामीण विद्युतीकरणको आवश्यकता र उपायलाई आधार बनाएर दक्षिण ललितपुर विद्युतीकरण योजनाको प्रस्ताव तयार पारियो । यी प्रस्तावित योजना दक्षिण ललितपुर विद्युतिकरणको आधार स्तम्भ भयो । यसै प्रस्तावको आधारमा जनसहभागिता आधारित साझेदारी कार्यक्रममार्फत समुदाय, स्थानीय निकाय (गाउँपालिका, जि.वि.स.)बाट कुल लागतको ५०% र सरकार– ने.वि.प्रा. को तर्फबाट ५०% को लगानीमा विद्युतीकरण कार्यको प्रारम्भ आ.व.०५५/०५६ बाट भयो ।
यस अभियानले विद्युतीकरणको भौतिक संरचना निर्माणदेखि सेवा सञ्चालनका लागि समेत समुदायको सहभागितामा आधारित सामुदायिक विद्युतिकरण कार्यक्रमको पहल गरेकाले २०६० सालमा सामुदायिक विद्युत विनियमावली जारी भयो भने भौतिक निर्माण (विद्युतीकरण) का लागि समुदायको तर्फबाट २०% लगानी र सरकारको (ने.वि.प्रा.)को तर्फ ८०% लगानी मार्फत विद्युतिकरण गरी उक्त स्थानमा सामुदायिक संस्था (सहकारी, संघसंस्था) ले सेवा सञ्चालन गर्ने गरी सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रम प्रारम्भ भयो । यो सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रम सञ्चालनको क्रम क्रमशः २०/८० बाट १०/९० को आधारमा (१० प्रतिशत समुदाय र ९० प्रतिशत ने.वि.प्रा.(सरकार)बाट स्रोत जुटाई विद्युतिकरण कार्य अगाडि बढेको छ ।
यस संस्थाको पहलमा ग्रामीण विद्युतिकरणको अभियान अगाडि बढाउने क्रममा यस दक्षिण ललितपुर विद्युतिकरण अभियानलाई संस्थागत रुपमा अगाडि सञ्चालन गर्न २०५७ साल श्रावण १७ गते नेपालको सहकारी आन्दोलनमा एउटा नयाँ विषयको सहकारी, नेपालमा पहिलो पटक दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारी संस्था लि. को दर्ता भयो । सामुदायिक ग्रामीण विद्युतीकरणको मोडलको रुपमा सहकारीलाई स्थापित गर्ने काम यस संस्थाबाट भएको छ । यो संस्था ललितपुर जिल्लाभर कार्यक्षेत्र रही दक्षिण भेगका कोन्ज्योसोम, महाङ्काल, बागमति गाउँपालिका र गोदावरी नगरपालिकाको वडा नं. ७ देवीचौरलाई समेटेर विद्युतिकरण तथा ग्राहक सेवा सञ्चालन क्षेत्र कायम गरी सहकारी संस्था सञ्चालन गरिरहेको छ ।
दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारी संस्था लि. ले ने.वि.प्रा. सामुदायिक ग्रामीण विद्युतिकरण विभागसँग २०६० साल पौष २५ गते सामुदायिक ग्रामीण विद्युतीकरण तथा विद्युत सेवा सञ्चालन गर्ने सम्झौता सम्पन्न गरी २०६१ साल भाद्र २ गतेबाट सहकारीमार्पmत दक्षिण ललितपुरमा विद्युत सेवा ललितपुरको देवीचौरबाट भयो । दक्षिण ललितपुरका ३ वटै गाउँपालिका र गोदावरी नगरपालिका वडा नं.७ देवीचौरको वस्तीहरुमा विद्युतको पहुँच विस्तार भई ७,००० घर परिवार विद्युत सेवाबाट लाभान्वित भइसकेका छन् । विद्युतिकरण र विद्युत सेवाको पहुँच विस्तारको कार्य जारी नै रहेको छ । यस कार्यमा स्थानिय सरकार गाउँपालिका वडाहरुको सहभागितामा निरन्तरता रहेको छ । यस संस्थाले भौतिक संरचना निर्माणमा अन्य गैर सरकारी संघसंस्थाको समेत सहयोग जुटाई विद्युतिकरण, मर्मत सुधारका कार्य गरेको छ ।
दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारी संस्था लि., नेपालको पहिलो विद्युत सहकारी संस्था हो । यस संस्थाले समुदायको सहभागितामा स्थानिय सरकारदेखि ने.वि.प्रा., प्रदेश सरकार, संघीय सरकारसँग समन्वय र सहकार्य गरी सामुदायिक विद्युतीकरण कार्यलाई निरन्तर अगािडी बढाएको छ ।
यस संस्थाले दक्षिण ललितपुरमा विद्युतको पहुँचसँगै सामाजिक, आर्थिक विकास गर्ने उद्देश्यका साथ अगाडि वढेको छ । यसका लागि विद्युत सेवाका अतिरिक्त गरिवको घरमा मिटर जडानका लागि सरल कर्जाको व्यवस्था, विद्युतको सेवा पुगेको र विद्युतकोे प्रयोग मार्फत ऊर्जामा आधारित उद्यम व्यवसाय सञ्चालन गर्न चाहने उद्यमीलाई कर्जाको व्यवस्था, उद्यमशिलता विकासका लागि तालिम र परामर्श सेवा, नवीकरणीय उर्जाको प्रवद्र्धन र नविकरणीय ऊर्जामा आधारित पाठ्यक्रम निर्माण, ऊर्जामा महिलाको पहुँच र नेतृत्व विकास गर्दै महिला उद्यमीलाई शिप विकास तालिम, अध्ययन अनुसन्धान एवं सामुदायिक विद्युतिकरणको विकास र प्रवद्र्धधनका लागि विभिन्न संघसंस्थाहरुसँग सहकार्य, पैरवी र वकालतीका काम गर्दछ ।
यस संस्थाले आफ्नै कार्यक्षेत्रका उपभोक्ताहरुबाट जनशक्तिको विकास गर्दै सेवा सञ्चालनमा स्थानिय व्यक्तिहरुलाई रोजगारको अवसर उपलब्ध गराइएको छ । स्थानिय क्षेत्रमा विद्युत क्षेत्रको काम गर्ने दक्ष जनशक्ति निर्माण गर्दै स्वरोजगारको सृजना समेत गरेको छ ।
संस्थाले विद्युत सेवा सञ्चालनमा समुदायको सहभागीतालाई आधार बनाएर विद्युतिकरण एवं सेवा सञ्चालनमा समुदायको सहभागितालाई निरन्तरता दिएको छ ।
समुदायको सामाजिक आर्थिक विकासका गर्न उद्यम व्यवसाय सञ्चालनका लागि परामर्श सेवा, शिपमुलक तालिम र पुँजीको व्यवस्थापनका लागि संस्थाको श्रोत परिचालन गर्न ऊर्जा वचत कार्यक्रम सञ्चालन गरी स्रोत संकलन र परिचालन गर्ने, यसको आयबाट संस्था समुदायको हित, संस्थागत विकासको लागि सञ्चालन खर्च व्यवस्था गर्ने र उपभोक्तालाई कर्जा सेवा समेत उपलब्ध गराई व्यवासायिक प्रवद्र्धनको माध्यमबाट ऊर्जा खपत बढाउने, समुदायको आर्थिक विकासमा सहयोग गर्ने कार्य अगाडि बढाएको छ ।
संस्थाले अफ्नो सेवालाई छिटो छरितो र पारदर्शी बनाउँदै कम्प्युटराइज सिस्टममा लेखा तथा विद्युत महसुल रिडिङ विलिङ सफ्टवेयर मार्फत मोवाइल एप्सको प्रयोगमा ल्याएको छ । उपभोक्ताहरुलाई महसुल भुक्तानी गर्न अनलाईन पे–मेन्ट eSewa, Khalti ,तथा IME Pay मार्फत समेत गर्न सकिने व्यवस्था गरेको छ ।
संस्थाले सामुदायिक विद्युतिकरणको विकास र प्रवद्र्धन एवं समुदायका जनताको सामाजिक आर्थिक विकासमा सरकारी निकाय, विभिन्न संघसंस्थासँग सहकार्य गरी उपभोक्ताको हित आफ्ना कार्यक्रमहरुलाई प्रभावकारी ढंगले अगाडि बढाएको छ । यसमा क्षेत्र समुदायको सहयोग र सद्भाव कायम रहेको छ ।
- परिकल्पना (Vision of the Organization)
सहकारितामार्फत सामुदायिक विद्युतीकरण, आर्थिक विकास र सामाजिक रुपान्तरण
- ध्येय ( Mission Statement)
समुदायको सहभागितामा विद्युतीकरण गर्दै सरल र गुणस्तरीय ग्राहक सेवा प्रदान गरी समुदायको
आर्थिक सामाजिक विकासको कार्य गर्ने ।
- मूख्य लक्ष्य (Main Goal)
‘दक्षिण ललितपुरका सम्पूर्ण वस्तीहरुमा विद्युतीकरणका लागि सहकारी संस्थामार्फत स्थानीय तह(नगरपालिका, गाउँपालिकाका वडाहरु), सरकार, दातृनिकायहरु तथा अन्य सरोकारवालाहरुसंग समन्वय गर्दै समुदायको आर्थिक सामाजिक विकास गर्न क्रियाशिल रहँदै गुणस्तर सेवा प्रदान गर्ने’
उद्देश्यहरु (Objectives)
- विद्युतिकरण र ग्राहक सेवा ख. उपभोक्ताहरुको सामाजिक आर्थिक विकास
- उद्यमशिलताको विकासको लागि ऊर्जा वचत कार्यक्रम घ. संस्थागत विकास
- मानवीय संसाधन विकास च. सहकारी शिक्षा, समन्वय, संजाल र वकालती
- वातावरणीय संरक्षण र नविकरणीय उर्जाको प्रवद्र्धन ज. विद्युतीय सामग्रीहरुको व्यावसाय
- विद्युत उत्पादन
मुख्य क्रियाकलापहरुः
- विद्युत संरचना निर्माण, विस्तार र मर्मत सम्भार गर्ने
- विद्युत वितरण तथा ग्राहक सेवा सञ्चालन
- व्यवसाय प्रवद्र्धन तथा घुम्तीकोष परिचालन गरी ऊर्जाका लागि वचत र उद्यमशिलता विकास
- विद्युतीय सामग्रीहरुको व्यवस्थापन र विक्री वितरण
- नवीकरणीय उर्जाको प्रर्वद्धन र सचेतना
- महिला उद्यमशिलता विकास तथा व्यवसाय प्रवद्र्धन
- सहकारी शिक्षा, समन्वय, सञ्ञाल र वकालती